काठमाडौं। कतार विश्वकप-२०२२ अघि ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियाको मेलवर्नमा मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। यस मैत्रीपूर्ण खेलले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका स्टार नेयमारलाई विश्वकपअघि आफ्नो टोलीलाई प्रमाणित गर्ने अवसर प्रदान गर्ने । यी दुईबीचको खेल ११ जुनमा हुनेछ।
यसअघि दुवै टिमको पछिल्लो पटक विश्वकप छनोटका खेल सेप्टेम्बरमा ब्राजिलको साओ पाउलोमा खेलेका थिए। सो खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर चार अर्जेन्टिनी खेलाडीलाई कोभिड-१९ क्वारेन्टिन नियम उल्लंघन गरेको आरोपमा पक्राउ गर्न खोजेका थिए।
यद्यपि, अर्जेन्टिनी खेलअधिकारीहरुले हस्तक्षेप गरेपछि उक्त खेल स्थगित भएको थियो। हालसम्म स्थगित भएको उक्त खेल खेलिएको छैन। यद्यपि, सो खेल पुनः नभएपनि दुवै टिम कतारमा हुने विश्वकपमा छनोट भइसकेका छन्।
बुधबार अस्ट्रेलियाको प्रान्तीय सरकारले ‘सुपरक्लासिको’ मेलर्बनको क्रिकेट मैदानमा हुने घोषणा गरेको हो। पाँच वर्षपछि हुन लागेको दक्षिण अमेरिकी फुटबल टिमको मैत्रीपूर्ण खेल हेर्न ९५ हजार दर्शकले उपस्थित हुने अनुमान लगाइएको छ।