(सम्पादकीय, नयाँ खबर कागज): नेपालले अहिले युवा र विद्यार्थीहरूको डरलाग्दो पलायन भोगीरहेको छ । यो प्रवृत्ति राष्ट्रको भविष्यका लागि ठूलो जोखिम बनेको छ । आप्रवासन देशले सामना गरिरहेका गहिरा चुनौतीहरुमध्ये एक हो । खासगरी, आर्थिक र बौद्धिक पुँजीको सन्दर्भमा यो डरलाग्दो अवस्था पनि हो ।
यो पलायनको आकार आश्चार्यजनक रुपमा ठूलो छ । अमेरिकाको शैक्षिक कार्यतालिका अनुसारको पछिल्लो सेमेस्टरमा मात्रै ४,००० भन्दा बढी नेपाली विद्यार्थीले अमेरिकी विश्वविद्यालयहरूमा भर्ना भएका छन् । उनीहरुले ट्युसन, आवास र अन्य खर्चहरुमा समेत गरेका भुक्तानीहरूको एकमुष्ट हिसाब गर्ने हो भने लगभग १२० मिलियन डलर भन्दा बढी बाहिरिएको छ । यो रकमलाई नेपालबाट संयुक्त राज्य अमेरिकामा हुने वार्षिक निर्यातसँग तुलना गर्ने हो भने यो लगभग बराबर हुन आउँछ । यसका साथै, अहिले दैनिक रुपमा १,००० भन्दा बढी नेपाली आप्रवासी कामदारका रुपमा देश छाडिरहेका छन् । यी मानिस कतार, युएई र मलेसिया जस्ता देशहरूको लागि दैनिक उडिरहेका छन् । हालै कतारको दोहामा भएको उडानमा हामीले हेर्दा २१० प्यासेन्जरमध्ये २००, अमेरिकामा उच्च शिक्षाका लागि हिँडेका विद्यार्थीहरु भेटिएका थिए । यसले पलायनको विशाल आकारलाई प्रष्ट्याउँछ ।
आप्रवासनको यो लहरले नेपालको घरेलु शिक्षा क्षेत्रमा नराम्ररी असर गरिरहेको छ । धेरै नेपाली विश्वविद्यालयहरूमा भर्ना घटेको छ । कतिपय शैक्षिक संस्थाहरुमा त नयाँ भर्ना शून्यमा समेत झरेको छ । फलस्वरूप देशका बौद्धिक स्रोतहरू खेर गइरहेका छन् । सम्भावना बोकेका पढेलेखेका मानिसहरु नेपालको विकासमा योगदान दिनुको साटो विदेशमा अवसर खोज्ने विकल्प रोजिरहेका छन् ।
यो “ब्रेन ड्रेन“ को नतिजा डरलाग्दो छ । सम्भावना बोकेका युवाहरुले देश छोडिरहँदा नेपालले नवप्रवर्तन र आर्थिक विकासको सम्भावना मात्र गुमाइरहेको छैन ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न आवश्यक पर्ने जनशक्ति पनि गुमाइरहेको छ । यसैकारण, देशको प्राविधिक विकास र औद्योगिक विकासको क्षमता खुम्चिएको छ । अर्थपूर्ण हस्तक्षेप बिना, यो प्रवृतिलाई उल्टाउन आवश्यक पर्ने दीर्घकालीन सम्भावनाहरू कम छन् ।
आर्थिक पाटोमा नै हेर्दा, विदेशमा रहेका नेपाली कामदारहरूले २०२३ मा करिब ११ अर्ब डलर विप्रेषण रेमिट्यान्स) फिर्ता पठाएका छन् । विप्रेषण देशको अर्थतन्त्रका लागि अहिले अत्यावश्यक त छ तर यो दीगो बाटो होइन । विप्रेषण माथिको निर्भरताले देशमा जुनकुनै समय आर्थिक संकट ल्याउन सक्ने सम्भावनालाई जीवित राख्दछ । अर्को तर्फ, देशको व्यापार घाटा बढ्दै गइरहेको छ । आयातले निर्यातलाई धेरै हदसम्म उछिनेको छ । २०२३ को तथ्याङ्क अनुसार, नेपालको कूल गार्हस्थ उत्पादन वृद्धि मात्र २ प्रतिशत थियो, जबकि मुद्रास्फीति ७.१ प्रतिशत र बेरोजगारी १०. ०७ प्रतिशत थियो । यी तथ्याङ्कहरूले देश झन् गरिब हुँदै गएको सङ्केत गर्छन्, किनभने यो घरेलु आर्थिक गतिविधिभन्दा रेमिट्यान्समा बढी निर्भर देखिन्छ ।
त्यसैगरी, नेपालको श्रम बजारमा पनि प्रतिकूलताहरु देखिँदै गएका छन् । एकातिर रोजगारीका लागि नेपालीहरु विदेशतिर उडिरहेका छन् भने नाइ, सिलाइकटाइ र मोची जस्ता शीपमा आधारित परम्परागत पेशाहरुमा भारतीय आप्रवासी कामदारहरुको प्रभूत्व देखिन्छ । उनीहरुले भारतमा करिब ३ अर्ब डलर विप्रेषणका रुपमा पठाइरहेका छन् । यसैबीच, नेपालले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आकर्षित गर्न संघर्ष गरिरहेको छ । एफडीआई सम्भाव्यतामा १३९ देशहरूमध्ये नेपाल १३३ औँ स्थानमा छ । जीडीपीको ०.२५% भन्दा कम विदेशी लगानीबाट आएको छ ।
अहिलेको परिस्थिति हेर्दा तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । नेपालले आफ्नो युवालाई राष्ट्रिय उत्पादकत्वमा सहभागी बनाउन र योगदान गर्न सक्षम बनाउन अवसरहरु सृजना गर्ने कुरामा लगानि गर्नु अनिवार्य छ । यसका लागि शिक्षाको गुणस्तरमा सुधार र बृद्धि, रोजगारीका अवसरहरूको सृजना साथै उद्यमशीलता र नवप्रवर्तनका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्दछ । त्यस्ता प्रयास बिना, पलायनको यो गतिलाई रोक्न सकिँदैन । यसो नगरे, राष्ट्रको भविष्य उज्यालो देखिने छैन, विश्व मञ्चमा नेपाल पछाडि परिरहनेछ ।