आइतवार, पुस २७, २०८१
विचार/ब्लग

जाडोमा जीवन जोगाऔं

इश्वर देवकोटा मङ्लबार, पुस ८, २०८१

जाडो याम वर्षभरिका मौसमहरूमध्ये सुन्दर र विशेष प्रकारको मौसम हो । तर यसले स्वास्थ्य र जीवनशैलीमा विभिन्न चुनौतीहरू पनि ल्याउँछ । चिसो हावाको प्रभावले मानिसलाई धेरै प्रकारका रोगहरूको जोखिममा पार्न सक्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, र दीर्घरोगीहरू जाडोबाट बढी प्रभावित हुने भएकाले उनीहरूको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । चिसो मौसममा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै उचित सावधानी अपनाउनु जरुरी छ ।


जाडोमा सबैभन्दा पहिलो आवश्यकता चिसोबाट जोगिनु हो । यसका लागि न्यानो कपडा लगाउनुपर्छ । सम्भव भएसम्म टोपी, मोजा, पञ्जा, स्कार्फजस्ता कपडाले शरीरलाई चिसोबाट बचाउँछ । जाडोको समयमा घरभित्र पनि न्यानो वातावरण बनाउन हिटर, ब्लाङ्केट, वा अन्य तातो साधनको प्रयोग गर्नु राम्रो हुन्छ । बिहान र साँझमा चिसो हावा बढी हुने भएकाले यस समयमा घरबाहिर निस्कँदा थप सावधानी अपनाउनुपर्छ ।


चिसोबाट बच्नका लागि घाम ताप्ने वा न्यानो ठाउँ नै खोजेर बस्नुपर्ने हुन्छ । सूर्यको प्रकाशले शरीरमा आवश्यक भिटामिन डी प्राप्त गर्न मद्दत गर्छ । साथसाथै, घाम ताप्दा शरीरमा तातोपनाको अनुभूति हुने भएकाले चिसोबाट जोगिन थप सहयोग पुग्छ ।
खानपानमा ध्यान दिनु जाडो याममा स्वास्थ्य जोगाउने अर्काे प्रमुख उपाय हो । यस मौसममा तातो झोलयुक्त खाना, सूप, जडिबुटी चिया, तथा सागसब्जी खानाले शरीरलाई तातो राख्न मद्दत गर्छ । चिसोका कारण शरीरमा पानीको मात्रा कम हुनसक्छ, त्यसैले पर्याप्त तातोपानी पिउनुपर्छ । तातो खाना मात्र होइन, जाडोमा रोगप्रतिरोधात्मक क्षमता बढाउने फलफूल जस्तै सुन्तला, मेवा, किवी आदिको सेवन गर्दा फाइदाजनक हुन्छ ।


जाडोयाममा सफाइ र स्वास्थ्यसम्बन्धी सतर्कता पनि आवश्यक छ । चिसो मौसममा नुहाउन र हातखुट्टा सफा राख्न मनतातो पानीको प्रयोग गर्नु उपयुक्त मानिन्छ । सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै भीडभाड भएका ठाउँमा जानुपरेमा मास्क लगाउनुपर्छ । चिसोका कारण रुघाखोकि, ज्वरो आदि देखिए उपचारको प्रक्रिया सुरु गरिहाल्नुपर्छ । बालबालिका र वृद्धवृद्धाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । उनीहरूको प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले चिसोमा उनीहरूलाई न्यानो कपडा, तातो खाना, र आरामको वातावरण उपलब्ध गराउनुपर्छ । श्वासप्रश्वासको समस्या देखिएमा तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ ।


आगो ताप्दा वा हिटर प्रयोग गर्दा सावधानी अपनाउनु अत्यन्त आवश्यक छ । बन्द कोठामा कोइलाको चुलो वा ग्यासको हिटर चलाउँदा अक्सिजनको अभाव हुन नदिन झ्यालढोका खुला राख्नुपर्छ । आगलागी र दम घुट्ने (अक्सीजनको कमि भई अचानक श्वासप्रश्वास रोकिने) जोखिमलाई ध्यानमा राखी सुरक्षित रूपमा यस्ता उपकरणहरूको प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।
जाडो यामको अर्को पक्ष प्रकृतिक सौन्दर्य पनि हो । हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित त पार्छ नै तर हिम सौन्दर्य प्रकृतिको अनुपम उपहार हो । तातो खानेकुराहरु, चिसो हावा, र न्यानो कपडाको साथमा परिवारसँग समय बिताउनु यो मौसमको विशेषता हो । जाडो मौसममा रोग फैलने जोखिम गर्मी मौसमको तुलनामा कम हुन्छ । त्यसैले जाडोयाममा सामान्य सावधानीहरु अपनाएर नै स्वास्थ्यलाई सुरक्षीत, तन्दुरुस्त राख्न र दैनिक जीवनलाई सहज बनाउन सकिन्छ ।


जाडो याम सुन्दर भए पनि सावधानी नअपनाए हाम्रो स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । न्यानो कपडा, सन्तुलित खानपान, सरसफाइ, र समयमै स्वास्थ्य परीक्षणले जाडोको प्रभावलाई न्यून गर्न सकिन्छ । स्वस्थ र सुरक्षित जाडोयाम बिताउनका लागि सावधानी अपनाउनु नै बुद्धिमानी हो । यसलाई केवल कठोर मौसमको रूपमा नलिई यसको रमणीय पक्षलाई पनि अनुभव गरौँ ।

भर्खरै प्रकाशित

  1. परम्परा र आधुनिकताबीचको सह–अस्तित्व

    मङ्लबार, पुस २२, २०८१

  2. Massive Earthquake Strikes Nepal: Tremors Felt Across the Region

    मङ्लबार, पुस २२, २०८१

  3. We all are Consciousness

    आइतवार, पुस २०, २०८१

  4. भ्रष्टाचारको जालो र युवाहरूको भूमिका

    मङ्लबार, पुस १५, २०८१

  5. जाडोमा जीवन जोगाऔं

    मङ्लबार, पुस ८, २०८१

सम्बन्धित खबर