सोमवार, पुस ७, २०८१
विचार/ब्लग

निर्मलाको नेतृत्वलाई शुभकामना

इश्वर देवकोटा मङ्लबार, पुस १, २०८१

नेपाल पत्रकार महासंघको भर्खरै सम्पन्न निर्वाचन परिणामबाट अध्यक्षमा निर्मला शर्मा निर्वाचित हुनुभए सँगै नेपाली पत्रकारिताले पहिलो पटक महिला नेतृत्व पाएको छ । नेपाली पत्रकार महिलाहरूको संस्था सञ्चारिका समूहको नेतृत्व गरिसक्नुभएको शर्माले यस अघि २०७७ सालको महासंघ निर्वाचनमा समेत अध्यक्षकै प्रत्यासीका रुपमा प्रतिस्श्पर्धा गर्नुभएको थियो तर अध्यक्षका अर्का उम्मेद्वार विपुल पोखरेलसँग पराजित हुनुभएको थियो । यसपटक प्राप्त अन्तिम मत परिणामअनुसार शर्माले झण्डै एक हजार मतान्तरले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुनुभयो । त्यसो त यसपटकको निर्वाचनमा शर्मालाई नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साथ प्राप्त भयो । निर्वाचन समिकरणमा सफलता जे जसरी प्राप्त भएपनि पत्रकार महासंघको यो निर्वाचन परिणामले पत्रकरिताको इतिहासलाई नयाँ मोड दिएको छ । महासंघको नेतृत्वमा विजयी निर्मला शर्मा र अन्य निर्वाचित सम्पूर्ण महासंघका केन्द्रीय पदाधिकारीहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना छ ।

नेपाल पत्रकार महासंघको ६९ वर्ष लामो इतिहासमा अनेकौं उतारचढावका बीच नेतृत्व तहमा महिलाको प्रमुख उपस्थिति ऐतिहासिक उपलब्धि बन्न पुगेको छ । आमसमाजको हौसला र प्रोत्साहनभन्दा पनि बढी आलोचनाको सामना गर्न बाध्य महिला पत्रकारहरुले मोफसल देखि केन्द्रतहमा भोगेका अनेकौं चुनौतीहरुलाई सार्वजनिक गर्न समेत उपर्युक्त अवसर नपाइरहेको अवस्थामा शर्माको यो नेतृत्व एउटा सुवर्ण अवसरको रुपमा उपयोग गर्न सक्नुपर्छ । जनसंख्याको आधारमा लैंगिक हिसाबले पुरुष भन्दा महिलाको संख्या अधिक भएपनि राज्यका सबैजसो निकायको नेतृत्वमा महिलाको सहभागिता अत्यन्तै न्यून छ ।

महिला सहभागिता बिनाको कुनै पनि निकाय महिला मैत्री बन्न सक्दैन, अझ महिला मैत्री बन्नका लागि नेतृत्व तहमा महिलाको सक्रिय भूमिका जरुरी छ । महिलाका समस्या र मुद्दा नजिकबाट बुझेर, अध्ययन गरेर समस्या समाधानका लागि पहल गर्नुपर्ने एउटा बलियो पेशा पत्रकारिता हो । संख्यात्मक हिसाबमा महिला पत्रकारको संख्या न्यून हुनु र प्रतिष्पर्धात्मक परिवेशमा महिला पत्रकारको सहभागितालाई कम्जोर बनाइनुले मोफसलबाट नै महिला पत्रकारिताले प्रोत्साहन पाउन नसकेको देखिन्छ । निर्मला शर्माको यो सफलता पत्रकारिता पेशामा अग्रसर नयाँ पुस्ताका महिलाहरुलाई हौसलाको बिषय पनि हो । आफैले काम गरेका संचार गृहमा निर्णायक भूमिकामा महिलाको सहभागिता नहुनु वा नगराइनु, महिला पत्रकारका अनुभव र क्षमतालाई वेवास्ता गरी पुरुष नै प्राथमिकतामा पर्नु जस्ता संकुचित परम्परालाई तोड्न नयाँ नेतृत्वले प्रयास गर्नुपर्छ । महिला पत्रकारहरु कार्यस्थलमा हुने कतिपय दुब्र्यबहारहरु खुलस्त सार्वजनिक गर्न समेत नसक्ने अवस्थामा छन् । कार्यक्षेत्रमा हुने असभ्य शब्दहरुको प्रयोग, गलत काममा प्रेरित गराउने, व्यक्तिगत चरित्रमाथि आँच आउने खालका व्यवहार आदिले महिला पत्रकारहरु बारम्बार पिडित हुनुपरेको गुनासो सुन्नमा आउँछ तर महिलाका समस्या सुनेर बुझिदिने नेतृत्व महिला मैत्री नहुँदा वा महिला स्वयमकै उपस्थिति नहुँदा कतिपय गम्भीर मुद्दाहरु ओझेलमा पर्दै आएका छन् ।

अबको नेतृत्वले अन्यायमा परेका महिला पत्रकारका आम मुद्दालाइ मिहिन ढंगले अध्ययन गरी न्यायिक निकास दिन सहयोग पुर्याउन सक्ने अपेक्षा गर्न सकिन्छ । पत्रकारिता क्षेत्रका अनेकौं मुद्दाहरुलाई महिला नेतृत्वको आँखाबाट पुनरवलोकन गरी अघि बढ्नु अध्यक्ष शर्मा लगायतका निर्वाचित पदाधिकारीहरुका निम्ति यो महत्वपूर्ण अवसर हो । यो अवसरको सदुपयोग गर्दै नेपाली आमसंचार माध्यमलाई अझ बलियो, जनमुखी, न्यायिक र सन्तुलित बनाउन आआफ्नो स्थानबाट सक्रियता पुर्वक अघि बढ्ने प्रेरणा मिलोस् फेरी पनि निर्मला शर्मा नेतृत्वको नेपाल पत्रकार महासंघलाई धेरै धेरै बधाई तथा, यहाँहरुको कार्यकाल अपेक्षाकृत सफल रहोस् , शुभकामना ।

सम्बन्धित खबर